सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको शव परिवारले बुझेको छ।

१ घण्टाअघि मात्र परिवारले शव बुझेको डिएसपी मोहन बुढथापाले जानकारी दिए। इनिशाको शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थियो।
बिहीबार भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ। परिवारले २७ दिनपछि इनिशाको शव बुझेको हो।
विकको बलात्कार र हत्या प्रकरणमा चारै जना अभियुक्तलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन जिल्ला अदालतले मंगलबार आदेश दिएसँगै परिवारले शव लैजान मानेको हो।
ट्युसन पढ्न बिहानै निस्केकी इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्।
पोस्टमर्टम रिपोर्टले बलात्कारपछि यौनांगमा भित्री चोटपटक लागेको र त्यसका कारण अत्यधिक रक्तस्राव हुँदा इनिशाको मृत्यु भएको उल्लेख गरेको थियो।
यस घटनामा इनिशाका अभिभावकले चारै जनाविरूद्ध सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए।
सरकारी वकिल कार्यालयले पनि सोही अनुसार सामूहिक बलात्कारका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको मागदाबीसहित अभियोगपत्र दर्ता गरेको थियो।