लायन्स क्लबद्वारा नि:शुल्क शिविर सम्पन्न चक्रघट्टीमा रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले २०८२ बैशाख २७ गते शनिबारका दिन स्थानीय लाइफ लाइन बराह पोलिक्लिनिकसंगको समन्वयमा “नि:शुल्क आँखा तथा दाँत जाँच शिविर” सम्पन्न गरेको छ ।

बराहक्षेत्र-७, बाङ्गे बजारमा सम्पन्न भएको उक्त शिविरमा बराहक्षेत्र-७,८,३,६ र ५ बाट सेवाग्राहीहरूले सेवा लिएको क्लबका अध्यक्ष सुजित कुमार रायले बताए । लायन्स क्लबको “हामी सेवा गर्छौँ” भन्ने मुख्य उदेश्यलाई आत्मसात गर्दै क्लबले निर्धारण गरेको ‘ग्लोबल कज’ को कार्यक्रमका रूपमा सो शिविर सम्पन्न गरिएको क्लबका संस्थापक अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । उक्त क्लबले स्थापनाको चौथो बर्षसम्म आइपुग्दा समाजमा दर्जनौं सर्भिसका कार्यक्रमहरू गरिसकेको छ । क्यान्सर पीडितलाई सहयोग, विपन्न परिवारमा खाद्यान्न तथा कपडा वितरण, विद्यार्थीहरूलाई कपी र स्टेशनरी सामाग्री वितरण, न्यानो कपडा वितरण, प्राकृतिक प्रकोपबाट प्रभावितलाई राहत वितरण, नि:शुल्क स्वास्थ्य जाँच शिविर लगायतका कार्यक्रमहरू निरन्तर गरिरहेको क्लबले चक्रघट्टीमा एउटा छुट्टै छाप बनाइरहेको छ ।

