तमाम अग्रज र साथीहरूलाई एकपटक गम्भीर भएर सोच्न आग्रह गर्छु- के पार्टी आजकै जस्तो अवस्थामा अगाडि बढ्न सक्छ ? सक्दैन । पार्टीको पुनर्गठन अनिवार्य छ ।

२३ भदौमा हामी कसैले नचाहेको अकल्पनीय घटना भयो । म सरकारमा थिइनँ । तर हाम्रो पार्टी सरकारमा थियो । हाम्रो अनुहारमा दाग लागेको छ । ऐना पुछेर हुँदैन, हाम्रो दाग पुछ्नुपर्छ । कांग्रेस पार्टीले सिंगो देशसँग माफी माग्नु पर्छ । र, यो घाउ पुर्नुपर्छ ।
२४ भदौमा यति धेरै ठूलो क्षति भएको छ कि जसको अहिले कसैले आकलन गर्न सक्दैन । सम्पदा, कार्यालय, कलकारखाना कहाँ कति क्षति भएको छ, कसैले अनुमान पनि गर्न सक्दैन । पार्टी सभापतिदेखि पार्टीका सयौं साथीहरूमाथि भौतिक आक्रमण भएको छ । घर, निजी सम्पत्तिमा छानी-छानी आगजनी र तोडफोडहरू भएको छ ।
स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ । यसलाई सहज बनाउनतिर जानुपर्छ । तर जहाँ नियतवश भएको छ त्यो दण्डनीय छ । तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ । २३ र २४ भदौमा अमानवीय र क्रुर घटनाहरू भएका छन् । प्रत्येकको छानबिन हुनुपर्छ । प्रत्येक दोषी जोसुकै होस्, कानुन अनुसारको सजाय हुनुपर्छ ।
घरहरूमा मात्रै जलाइएको छैन । कार्यालय भवनहरूमा मात्रै आगो झोसिएको छैन । धेरै मनहरू पनि फाटेको छ । यसलाई जोड्ने काम र खर्बौंको क्षति पुनर्निर्माण गर्नुपर्ने छ । यसको पहलकदमी हामीले लिनुपर्नेछ ।
२०६०/६१ सालको अवस्था सम्झौं । जतिखेर सबैभन्दा बढी हाम्रा साथीहरू मारिएका थिए । सम्पत्ति लुटिएर घरबारविहीन भएका थिए । अंगभंग भएका थिए । त्यस्तो अवस्थामा पनि देशलाई हिंसाबाट बाहिर निकाल्नुपर्छ भनेर घाउ-चोट बिर्सेर माओवादीसँग हात मिलायौं । नेपाल शान्तिको बाटोमा अगाडि बढ्यो । फेरि एकपटक सबैलाई जोड्ने एउटा पहल कदमी चाहिएको छ ।